प्रिय सन्तोष

प्रिय सन्तोष,
अनुरोध तिमीलाई,
कुरीरहेछु, चाँडै फर्कनु है ।
अबेर भयो फर्केका छैनौँ तिमी । मान्छेहरु भन्दै थिए, सन्तोष तिमी रहेनौ अव । गोलि लाग्यो पापीहरुको, ढल्यौ, लड्यौ, अनि तिमी मर्यौ अरे ।
सन्तोष, तिमी मरेका छैनौ । तिमी पुनः जन्मनु पर्छ । सन्तोष तिमी एउटा गयौ तर भोलीको बिहानीसँगै तिमी हजारौँ भएर जन्मनु पर्छ । आज बिचमै ढल्यौँ तर सन्तोष भोली तिमी जन्मे पछि त्यही ठाउँबाट जुरुक्क उठ्नु, आफ्नै बहुवलमा उठ्नु अनि निडर मुस्कुराउदै आफ्नो गन्तव्यमा पुग्नु र आमाको आँसु पुछेर भन्नु,“आमा म मरेको छैन ।”
हो सन्तोष, म तिम्रो विश्वास गर्छु तिमी मरेका छैनौ । एउटा बाल सपना तुहिएको छैन । बरु त्यस सपनामा कयौँ सन्तोषहरु जन्मेका छन् । के गर्ने, विडम्वना छ हाम्रो देशको । “जुन जोगी आए पनि कानै चिरेका ।” आफ्नो माटोको मकै विर्सेर अर्काले दिएको भिखको पिठोमा देश चलाउन खोज्नेहरुले तिम्रो भावनालाई बुझ्न सक्दैनन् सन्तोष । कलिला मनहरुको भावना र उनहिरुको आवाज बुझाउन ति महापुरुषहरुलाई त कयौँ सन्तोेषहरुको आहुती दिदा पनि पुग्दैन । “आफ्नो बोट र त्यसको हाँगाबिँगा सुरक्षीत भए जङ्गलको के मतलव ?” भन्ने निकृष्ट सोच राख्नेहरुलाई के थाहा नाङ्गो जमीनमा एक्लो बोट बाच्न सक्दैन भनेर । सन्तोष, तिम्रो वलिदानले अवश्य केही पाठ त सिकाएकै होला कठपुतली सरकारलाई । कलिला बाल सपना तुहाउन खोज्नेहरुलाई सजाए दिलाउनै पर्छ । तिमीले बगाएको निर्दोष रगतले संविधानको ठेलीमा बालअधिकारका शब्द लेखिनै पर्छ ।
आह्वान छ सवै सरस्वतीहरुलाई आफ्नो सन्तोषलाई बचाउनुहोस् । उसको मनका चाहाना, आकान्क्षालाई अल्पआयूमा मर्न नदिनुहोस् । उठ्नुहोस् सवै बालप्रेमी मनहरु, जुर्मुराउनुहोस् र बालबालीका र बालअधिकारको संरक्षणको लागि आ–आफ्नो ठाउँबाट एकजुट भएर अघि बढ्नुहोस् । आज देशमा सवै सन्तोषहरुको आवाज गुन्जयमान छ,“आमा मलाई बचाउनुहोस्, बाबा मलाई बचाउनुहोस् ।”
सन्तोष तिमी हरेस नखानु । भविश्यका राष्ट्रनिर्मातालाई यसरी निर्दोैष मर्न हामी दिदैनौँ । विश्वास गर हामी बाच्नेछौँ तिम्रा सपना । फूल्न नपाउदै कोपिलालाई चटक्क बोटबाट चुड्न खोज्नेहरुलाई दह्रो पाठ सिकाउनु छ । त्यसैले सन्तोष, तिमी फेरी जन्मनुपर्छ । साढेको जुधाईमा बाछोको मिचाई धेरै नै भयो । सन्तोष तिमी बुलन्द आवाज बनेर जन्मनु है । हरेक बस्तीमा जन्मनु, गाउँ र सहरमा जन्मनु अनि तराई र पहाडमा जन्मनु तिमी । कुनाकुनाबाट एउटै आवाज निस्कनु पर्छ,“बालबालीका नै देश हुन्, बालबालीकाको रक्षा गर, बालअधिकार सुनिश्चित गर ।” सन्तोष तिम्रो पुनःआगमन सँगै हामी मिलेर लेख्नु छ देश, नयाँ नेपालको संविधान वनाउन यि हुतियारा अनि विदेशी दलालहरुलाई राष्ट्रियताको पाठ सिकाउनु छ । कोपिला लागेका तिम्रा सपनालाई साकार पनि त गर्नु छ । त्यसैले सन्तोष तिमी चाँडै फर्कनु है ।
तिम्रो प्रतिक्षामानयाँ नेपाल

Comments

Popular Posts