मलाई माफ गर


२०६५/०९/२८

म आज कतै हारेको त होइन ? के म असफल भएको त होइन ? के मैले जिन्दगीमा आफ्नो गन्तव्यलाई अंगाल्न नसक्ने त होइन ? आज मन रोइरहेको छ । यस सुनसान रातमा म निदाउन सकिरहेको छैन । मेरो धड्कन बेस्सरी धड्कीरहेको छ । म तिर्खाएको छु । म आत्तिएको छु । मेरो मस्तिष्क शुन्यतामा केन्द्रीत छ । म घुम्दै घुम्दै खाडलमा पुरिएको अनुभुति गरीरहेको छु । म हारेको अनुभुति गरिरहेको छु । मन रोइरहेको छ, देह गलिरहेको छ, कतै म असफल हुने त होइन ?

वास्तवमा आज रिजल्टको दिन । मेरो कक्षा ११ को परिक्षाफल प्रकाशित भएको छ । धेरै दिन भयो मैले यसको प्रतिक्षा गरेको तर अफसोच जव यो मेरो सामुन्य आयो, ठूलो पीडा लिएर आयो । हो मेरो परिक्षाफल अकल्पनिय रह्यो । मलाई दुईओटा विषय लागेको रहेछ । मैले सोचेको पनि थिइन मलाई केमेस्ट्री र म्याथ लाग्नेछ भनेर । त्यति नराम्रो पनि भएके थिएन परिक्षा । तर यो परिक्षाफलले मेरो मनमा ठूलो आघात पुर्याएको छ । मलाई भाग्यले धोका दिइरहेझै लागिरहेछ । सायद हो पनि । तर भाग्यलाई पनि त दोश दिन सक्दिन म । मैले सोचेको पनि थिइन, मलाई यति थोक दिने भाग्यले आज सान्त्वनाका शाब्दिक पाठहरुले झपार्नेछ भनेर ।

मेरा हात कापिरहेका छन् । टाउको भारी बनेको छ । शरिर पराइ जस्तो लाग्न थालेको छ । म आज पराजित भएको छु । हुन त गल्ती मेरै हो । समयमा मैले आफूलाई अध्ययनमा लगाउन सकेको भए सायद आज यो दिन देख्नुपर्ने थिएन । हुन पनि सधै म अन्य कुरामा नै व्यस्त रहन्थे । कहिले यो कार्यक्रम, कहिले यता मिटिङ, कहिले त्यो....। सायद धैरै संघसंस्थाहरुमा लागेर पनि होला मैले आफ्नो अध्ययनमा आवश्यक लगन गर्न नपाएको । मान्छेहरु भन्ने गर्दथे विज्ञान पढ्नेहरु त दिनरात मिहेनत गर्नुपर्दछ । तर म भने कहिल्यै एक ध्यानले लामो समयसम्म पुस्तकमा आफूलाई केन्द्रित गर्न सकिन । म व्यस्त हुन्थे, नयाँ सोचको जन्म गर्न र त्यस सोचलाई सार्थक पार्न । तर मैले अध्ययनलाई सोच बनाउन भ्याइन वा मेरो मस्तिष्कमा त्यो कुरा नै आएन ।

धेरैले सम्झाउने गर्दथे । मैले मानिन वा गहन रुपमा लिइन । हुन त यस अवधीमा मैले समाजबाट धेरै मान सम्मान पाएँ । समाजमा आफ्नो वेग्लै पहिचान बनाउन सफल भएँ । राष्ट्रिय देखि अन्तराष्ट्रिय गतिविधीहरुमा मेरो सहभागिता रह्यो । धेरै ठूला मान्छेहरुसँग भेटघाट गर्ने र धेरै नयाँ ठाउँहरुको भ्रमण गर्ने अवसर पनि मैले पाएँ । तर कमाएका ति सवै अवसर, सम्मान र नामहरुमाथी आज ठूलो प्रश्न चिन्ह खडा हुन्छ । लाग्दछ मैले सवै गुमाएँ ।

वास्तवमा सत्य थियो, मैले पढाइलाई समय दिन सकिरहेको थिईन । सायद पढाइमा अलिकति बढी मिहेनत गरेको भए आज म राम्रो अंक ल्याएर पास हुन्थे होला । अब त मलाई मेरा ति प्रमाण–पत्रहरु द्येखेर घृणा लाग्न थालेको छ । जलाइ दिऊ जस्तो लागेको छ मैले कोरेका चित्रहरु अनि च्यातिदिऊ जस्तो लागेको छ मैले लेखेका साहित्यहरु । कहाँ थन्क्याउने होला मेरा आदर्श, सोच र बिचारहरु ? कसलाई सम्झने मैले ? के गर्ने मैले ? कहाँ जाने म अलमलमा परेको छुँ । यति मानशिक पीडा जिन्दगीमा पहिलेपल्ट अनुभव भइरहेछ । अव कसरी सम्झाउने मेरो मनलाई । कसरी बुझाउने बुवा आमाको भावानालाई ? आफन्तहरुको प्रश्नको कस्तो जवाफ दिने र साथीहरुसँग कसरी प्रस्तुत हुने ? मेरो मस्तिष्क यस्तै प्रश्नहरुले घेरिएको छ । म यो बोझबाट मुक्त हुन चाहान्छु । कसलाई सुनाउ यो पीडा ? कसरी बुझउ यो व्यथा ? हुन त म आफ्ने मनलाई सान्त्वना मात्र दिन सक्छु, प्रकाशित नतिजामा परिवर्तन ल्याउन त सक्दिन । हिजोसम्म मलाई माया गर्नेहरुले पनि मेरो परिक्षफलमा परिवर्तन ल्याउन सक्दैनन् । मैले अव मिहेनत गर्नु पर्दछ । मेरो परिक्षाफलले गर्दा निरास हुनुपरेकाहरुलाई मैले खुसी पार्नु छ । वास्तवमा म आफ्नो क्षमता भन्दा धेरै कमजोर भएके रहेछु । अव मैले मेरो क्षमतालाई प्रस्तुत गर्नुछ । समाजसेवामा लागेर म विग्रिएको भन्नेहरुलाई मुतोड जवाफ दिनु छ ।

मैले अव केही समय यस क्षेत्रलाई पन्छ्याएर अध्यनमा आफूलाई पूर्ण रुपमा समर्पित गर्नुछ । महेश शरले भन्नुभए जस्तै अव म गुप्तवास वस्नुपर्छ । सायद मबाट धेरै आफन्तहरु रिसाउलान्, धेरै दुःखी होलान् । तर उनिहरुलाई मपछि पनि सम्झाउन सक्छु । बिग्रेको सम्वन्धहरुलाई सुधार्न पनि सक्छु तर विग्रेको मेरो परिक्षाफललाई सुधार्न गाह्रो हुन्छ । त्यसैले साथीहरु मलाई माफ गर, केही समय म यस गतिविधीहरुबाट टाढा रहन चाहान्छु किनकी, मैले फेरी अर्को परिक्षाफलको दिन यस्तै पानामा लेख्नुछ– "यस ! सागर इज ब्याक " तर त्यतिखेर म यसरी पीडा पोख्ने छैन र म मेरा दुःख लेख्ने छैन । त्यतिखेर म आफ्नो सफलताका खुसीहरु पेख्नेछु, विजयका भावहरु लेख्नेछु । मैले हारेको होईन साथी थोरै बिश्राम लिएको मात्र हो । त्यसैले सक्छौ भने अहिलेलाई माफ गर है ।

(र आज म गर्व साथ भन्न सक्छु कि ईष्ट पोइन्टको टपरहरुको लिस्टमा मेरो नाम पनि पर्न आउछ ।)

Comments

Popular Posts