“राजाको छोरोले आफ्नो सप्पै परिवारलाई सखापै पारेछ ।”

२०५८, जेष्ठ १९ गते ।


विहान दश बजे नै स्कुल पुग्नुपर्ने । स्कुल जानु पर्दा यस्तो लाग्दथ्यो कि ठुलै पाहाड चढ्न जादैछु । यदि ममीले समयमा नै उठाउनु भएन भने त सात आठ बजेसम्म पनि मज्जाले सुतिन्थ्यो । तर त्यस दिन निन्द्रा छ बजे नै खुल्न पुग्यो ।

मुख नधोई आँखा मिच्दै म बाहिर निस्कीए । घर छेउकै चिया पसलमा त ठुलै होहल्ला नै मच्चिराखेको रहेछ । त्यतिको भिड त उसबेला राती राती माओबादीको नौटङ्की चल्दा मात्र हुने गथ्र्यो । तर एकाबिहानै गजबको भिड ? बुढापाखा देखि तन्नु-तन्नेरी अनि केही मेरा गुच्चापाठी पनि । कट्टुमाथी पुरानो गञ्जी लगाएर म पनि त्यही रमाईलोमा सामेल हुन दौडिए ।

“ओई सगर आज स्कुल बिदा हुने भो नि ।” कान्छो चिच्याउदै म भएतिर आयो । स्कुल जान नपरेपछि कस्को मन पो नउफ्रेला र ? मेरो पनि उफ्रियो, मज्जाले उफ्रियो ।
“किन र ? माओबादीले बन्द गरेको हो ?” मैले सोधे ।
“कहा हुनु ? राजाको छोरोले आफ्नो सप्पै परिवारलाई सखापै पारेछ रे, त्यसैले ।”
“के भन्छ यो? निद्रामै छस् त ? यस्तो त फिल्ममा मात्र हुन्छ । कि विहान विहानै डि.भी.डि हेरेर आईस् ?”
“हेरे डि.भी.डि जे पाए त्यहि नबोल न त । नपत्याए सबैलाई सोध । मलाई त मामाले भन्नु भा’को ।” उसले झर्को माने जस्तो गरि भन्यो । केही बेर त अचम्ममा परे । राजाको छोराले पनि यसो गर्ला त ? दौडदै ठुलोबुवा भएको ठाउँतिर गए ।
“आफ्नो प्रेमिकासँग बिहे गर्न नपाएको झोकमा ठोकिदिएछ ।” चियाको सुर्पो तान्दै बसेका अनभिग्य अनुहारहरुलाई भिडबाटै सम्बोधन गर्दै मेरा कांग्रेसी ठुलोबुवाले भन्नुभयो ।

“ओहो भनेपछि हो रहेछ । स्कुल त बन्द नै हुने भो नि । तर कति दिन पो हो कुन्नी ?” मेरो दिमागमा यही कुरा मात्र खेलिरहेको थियो ।
“सप्पै मरे नि । कम्तिमा ४-५ दिन त पक्कै बिदा हुन्छ ।” कान्छोले खुसी हुदै भन्यो ।
“इस ४-५ दिन मात्र । राजा मरेको हो । कान्छीको बाउ मरेको हो र ? १०-१५ दिन त बिदा हुन्छ हुन्छ ।” अर्जुन दाईले ठोकुवा गर्दै भन्नु भयो ।

आफुलाई अरु के नै चाहियो र ? स्कुल जान नपरे कुरै खतम । राजा मरोस् या कान्छीकी बाऊ । दुबैलाई न चिन्या छ, न देख्या नै छ ?

केहीबेरमा नै सबै भुरापार्टिको जमघट भयो । सवैको अनुहारमा एउटै खुसी थियो, मुखमा भने एउटै कुरा, “राजाको छोरोले आफ्नो सप्पै परिवारलाई सखापै पारेछ ।” तर विडम्बना, राजा को ? अनि राजाको छोरो को ? त्यो भने कसैलाई अवगत थिएन ।

Comments

Popular Posts