सपना र अनुरोध

http://aafnokatha.blogspot.in/
आफैलाई आश्चर्य लाग्दै थियो, मेरो गाउँ आज भिन्न देखिएको थियो । हिजो सम्म पानी पर्दा हिलाे हुने अनि घाम लाग्दा धुलो उड्ने त्यो कच्चि बाटो आज पिच भएको देख्दा पत्यार नै लागेन । गाउँका सबै युवाहरु रोजगारको खोजीमा विदेशीए पछि सुनसान भएको मेरो गाउँ आज ब्यस्त थियो । कच्ची माटोले बनेका घरहरु पक्कि अनि माैलीक शैलीले निकै नै आकर्शक भएका थिए । बिकास मामा दुवईबाट फर्केर गाउँमै आधुनीक कुखुरा पालन तथा व्यवसाय पनि थालिसकेछन्, मलाई पत्तै थिएन । कतार छिरेका अर्जुन दाईले त झन् कमल पोखरीमा माछा पालन थालेर धेरै युवाहरुलाई रोजगार पनि दिदै रहेछन् । डुंगा चढ्न र फाेटाे खिच्न थुप्रै पर्यटक कमल पुखरी आउन थालेछन् । गाउँ पहिलेको जस्तो सुनसान बिल्कुलै थिएन ।


आफ्नै आँखामाथी बिश्वास थिएन आज । भरतको चिया पसल पनि निकै आधुनीक भैसकेको रहेछ । झन् त्यहाँ केही बिदेशीहरुलाई कफी पिउदै गफिदै गरेको देख्दा त मलाई अत्ति नै भयो ।

“हैन ओ भरत के भएको हो यो गाउँलाई ? अचानक यति ठुलो परिवर्तन ?” मैले टाउको कन्याउदै भरतलाई सोधे ।
“यीनीहरु कोही फिलीपिन्स त कोही अफ्रिकन मुलुकहरुबाट हाम्रो गाउँमा उच्च शिक्षाको लागि आएका हुन् । तपाईलाई थाहा छैन र ? हाम्रो गाउँमा 'फुलबारी यूनीभरसिटी' खुलेको छ नि । त्यो पनि अन्तराष्ट्रिय मान्यता प्राप्त ।” भरतले अनौठो अटोमेटीक मेसीनबाट चिया निकालेर मेरो हातमा थमाउदै भन्यो ।

म आफैमाथी विश्वास गर्न सकिरहेको थिईन । म जस्ता कयौँ युवाहरुले अब गाउँमै पढ्न र रोजगारी पाउने भए । फुलबारीदेखी नारायणगढसम्म मेट्रो लेन बनिरहेको रहेछ । जहाँ हामी सानोमा गाईभैँसी चराउन जादा मोजाको भकुण्डो खेल्ने गर्थ्याैँ त्यहाँ त अहिलै अन्तराष्ट्रिय क्रिकेट मैदान बनिसकेको रहेछ । हालसालै भारत, अष्ट्रेलीया र नेपल बिच चलिरहेको त्रिकोणात्मक क्रिकेट प्रतियोगितामा पारसको सानदार शतकको मध्दतले नेपालले अष्ट्रेलीयालाई हराएर फाईनल पुगेको रहेछ । माईला अंकल टाई सुटमा चट्ट परेर अफिस जादै थिए । उनले नारायणी हाईड्रो ईलेक्ट्रीसिटी प्राेजेक्टमा जागिर खान्छन् रे । उनैका भई कान्छा काका भने आफ्नो कृषी फर्मकाे कामले बिदेश गएका छन् रे, युराेप, अष्ट्रेलिया र अमेरिकामा आफैले उत्पादन गरेकाे अर्गानिक तरकारी बिक्री गर्ने आउटलेट खाेलेका रहेछन् । गाउँमा बेरोजगार कोही थिएनन् । गाउँ साच्चिको फूलबारी जस्तै देखीएको थियो । र गाउँको फेरीएको मुहार देख्दा आफैलाई आनन्द आईरहेको थियो । अचानक मेरो मोबाईलमा घण्टी बज्यो ।


म झसंग भए । भरतको चिया पसल कता बिलायो बिलायो । त्यो पक्कि बाटो, बिदेशबाट फर्किएका मेरा गाउँका युवाहरु, त्यो आधुनीकरण, ब्यस्त गाउँका मान्छेहरु सबै भ्रम रहेछन् । ओहो, मैले त सपना पो दखिरहेको रहेछु । टेवलमा रहेको पानीको बोतल खाली गरे । अनि जव होसमा आए मेरा आँखाका डिलबाट अनायासै आँशु खस्न थाले ।


म पनि देशलाई माया गर्ने एक युवा । बाध्य भएर उच्च शिक्षाको लागि आफैलाई दक्षिण भारतमा डोर्याउनु पर्दा मन नदुःखेको होईन । पराईको देशमा कयौ पटक ठगिनु पर्दा यस्तो लाग्थ्यो मेरो देश भईदिएको भए आज यो दुःख दुःख्नु पर्दैन थियो होला । यदि देशमा शान्ती, शुरक्षा, शिक्षा र अवसर भईदिएको भए मजस्ता कयौँ युवाहरु विदेशिनु पर्दैन थियो होला । के मेरो आवाश्यकता मेरा बुबाआमा, दाजुभाई र दिदीबहिनीलाई मात्र हाे र? ? के मेरो देशलाई मेरो आवश्यकता नै छैन ?

कहिलेकाही त मन दुःखेर आउछ कस्तो देशमा जन्मेछु भनेर । तर फेरी सोच्दछु, देश त मेरो स्वर्ग भन्दा पनि सुन्दर छ, देश बनाउने अहाेदामा पुगेकाहरू पहिले आफु अनि आफ्ना परिवार बनाउने रेसमा छन् । आफ्नाे सन्तानकाे लागि समेत लायक देश बनाउन सकेनन् ति नेताहरूले । उनीहरूकै सन्तानले त याे देशमा अवसर नदेखेर देश छाेडे भने हामी सामान्य परिवारका युवाहरूलाई याे देशमा के कुराले राेक्ने? तर हाेइन, मैले परिकल्पना गरेकाे देश मेराे सपनाकाे देश जस्तै हुनुपर्छ । अब युवाहरूले आफ्नै देशकाे माटाेमा सुन फलाउन सक्ने वातावरण बनाउन सक्नु पर्छ । आफ्नाे सपना यहाँ अरू कसैले पुरा गरिदिदैन । याे देशलाई मैले परिकल्पना गरेकाे जस्तै देश बनाउन म नेपाल फर्कनै पर्छ ।

फेरी निदाउन सकिन । ल्यपटप खोलेर अनलाईन रेडियोबाट समाचार सुन्न थाले । “संबिधानसभा सभासदलाई मासिक तलब ७३,३८८ रुपैयाँले काठमाण्डौमा गुजारा गर्न गाह्रो हुने भयो रे ।” झनक्क टाउँको तातेर आयो । नेपालजस्तो अत्यन्त कम मासिक सदर आय भएको देशमा ६०१ सभासदलाई जनताले पाल्नु परेको छ । त्यसमा पनि जनतालाई सास्ती र महंगी सधै उस्तै छ, सभासदलाई अनेकन शिर्षकमा सेवा, सुविधा र भत्ता । यदि महिनाको ७०,००० खाएर पनि पुग्दैन भने जिन्दगिभर एकै पटक ७० हजार नदेखेका गरिब नेपालीहरु कसरी गुजारा गर्दै होलान् राजधानीमा ? के सभासदहरु ति गरीब निमुखा जनताका प्रतिनीधि होईनन् । जनताले उनिहरुलाई संबिधानसभामा यसकारणले पठाएका होईनन् कि राष्ट्रको ढुकुटी उनीहरु चुनाव खर्च उठाउन, आफ्ना कार्यकर्ता पाल्न वा अर्को चुनाबको खर्च पनि अहिले नै जोहो गर्न प्रयोग गर्न सकुन् । हाम्रा नव निवार्चित माननिय सभासद महासय, तपाईहरु देशको निर्णय गर्ने ठाउँमा हुनुहुन्छ । यदि अलिकति भएपनि बिबेक प्रयोग गर्न सक्नुहुन्छ भने सबै नेपालीलाई आफ्नै देशमा अलिकति कमाउन सक्ने बाटोको सृजना गर्नुहोस् । सम्मान पुर्वक र सुरक्षीत जीन्दगी बिताउन सक्ने वातावरणको सृजना गर्नुहोस् । शिक्षा र रोजगारी निश्चित हुने कानुन बनाउनुहोस् । युरोप र अमेरीकाका सभासदको जस्तो सुविधा र तलब पाउन चाहानुहुन्छ भने पहिले देशलाई युरोप र अमेरीका जस्तो बनाउनुहोस् । नत्र भने यस्तो पुँजीबादी सोच राखेर आफुलाई नवराजा ठान्ने भुल गरी गरिव जनताका आशामाथी कुठाराघात गर्ने गल्ति किमार्थ नगर्नुहोस् ।

म सधै चाहान्छु मेरो सपना यथार्थमा परिवर्तन भएको हेर्न । मेरो देश जहाँ बाटोमा चुरोट खानेलाई पुलिसले समात्छ तर घुस खाने र भ्रष्टचारीलाई केही गर्दैन, जहाँ सुनको भाउ बढ्दा सबैलाई चिन्ता छ तर नुनको भाउ बढ्दा कसैलाई मतलब छैन, जहाँ पुस्तकालय र अनुसन्धान केन्द्र भन्दा सिनेमा हल धेरै छन्, जलस्रोतको दोश्रो धनि राष्ट्र भएतापनि जहाँ दैनिक अघाेसित लोडसेडीङ्ग छ त्यैपनि नेताहरु डिजेल प्लान्ट ल्याउने कुरा गर्छन्, जहाँ चिनी नब्बे रुपैया किलो र चामल पचास छ र पनि सिमकार्ड सित्तैमा पाईन्छ । यस्तो हभिगतले देशको बिकास कहिले हुने ?

जवसम्म हामी आफ्नो सोचको परिवर्तन गर्दैनौँ, देशले के दियो भन्दा पनि देशलाई के दिए भन्ने कुराको चिन्तन गर्दैनौँ र बिदेशी दलालको चाकडी गर्न छोडेर स्वःविवेकले राष्ट्रियताको भावनाको विकाश गर्दैनौँ तब सम्म यो देशको केही हुनेवाला छैन । अब पालो हामी युवाहरुको हो । जुन परिवर्तन नेताहरुले ल्याउन सकेनन् त्यो परिवर्तन हामी युवाहरुले ल्याउनुपर्छ । म मेरो ईञ्जिनियरिङ्ग सकेर बिदेशमा आफ्नो श्रम बेच्न चाहान्न । म मेरो गाउँ फर्किन चाहान्छु र सबै शिक्षीत युवाहरुलाई पनि आ-आफ्नो गाउँ फर्कन अनुरोध गर्दछु । हामी भित्र क्षमता छ, जोश छ र आफ्नो सपना सार्थक पार्न सक्ने विश्वास र उर्जा पनि छ । वस मेरो एउटै अनुरोध सरकारलाई, हामीलाई हाम्रो ठाउँमा बाच्नसक्ने वातावरणको व्यवस्था गरिदिनुहोस् ।

Comments

Popular Posts